काठमाण्डौ — निर्वाचन आयोगका अनुसार हाल ३२ राजनीतिक दल दर्ता प्रक्रियामा छन्, जसमा जेनजी आन्दोलनपछि मात्र २३ नयाँ दलले दर्ता प्रक्रिया अघि बढाएका छन् भने बाँकी नौ दल पुराना हुन्। केही दलले दर्ता पूर्ण गरिसकेका आयोगले जनाएको छ। हालसम्म दल दर्ता गर्ने अधिकार पाएका दलको संख्या १२६ पुगेको छ।
दर्ता प्रक्रियामा रहेका दलमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधव कुमार नेपाल सह–संयोजक रहेको ‘नेपाली कम्युनिस्ट पार्टी’ प्रमुख चर्चामा रहेको छ। त्यससँगै योगेन्द्र मण्डल नेतृत्वको राष्ट्रिय ऊर्जाशील पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’को कम्युनिस्ट पार्टी नेपाल, अनुप कुमार उपाध्यायको उज्यालो नेपाल पार्टी लगायतका दलले दर्ता प्रक्रिया अघि बढाइरहेका छन्।
यस्तै, हिराप्रसाद सोतीको राष्ट्रिय जेन–जी पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, नवराज सुवेदीको नवयुग पार्टी, अजयकुमार राईको राष्ट्रिय परिवर्तन पार्टी र गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी दर्ता सूचिमा छन्।
हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, सबिन सिग्देलको राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल, रियाज अहमद शेषको राष्ट्रिय स्वराज पार्टी, राजकुमार कक्षपतीको नेकपा (वामपन्थी केन्द्र) लगायतका दलका निवेदन आयोगमा अध्ययन भइरहेको छ।
सुन्दर राम बोहराको आवाज पार्टी, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल, अकबर खानको राष्ट्र निर्माण दल नेपाल, रमनकुमार कर्णको जनादेश पार्टी नेपाल तथा प्रशान्त सिंहको पिपुल फस्ट पार्टीले दर्ता निवेदन दिएका छन्।
यसबाहेक सन्दिप उप्रेतीको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल, अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपालका निवेदन पनि आयोगमा पुगेका छन्।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, वीरेन्द्र बस्नेतको पहलमा बनेको गतिशील लोकतान्त्रिक पार्टी र कबिर सोप अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल भने दर्ता भइसकेका छन्।
दल दर्ताको प्रमाणपत्र लिन दुई दिन मात्र बाँकी छ। कात्तिक ३० गतेभित्र दर्ता प्रमाणपत्र लिनुपर्ने आयोगको सूचि अनुसार, मंसिर १ देखि १० गतेभित्र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी निवेदन दर्ता गरिनुपर्नेछ। आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकिएको छ।


