काठमाण्डौ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’ अवलोकनपछि नेपालमा कृत्रिम बुद्धिमत्ता क्षेत्रमा काम गर्ने उत्साह झनै बढेको बताएका छन्। राष्ट्रिय एआई केन्द्र उद्घाटनपछि कोरिया पुगेका मन्त्री खरेलले त्यहाँको एआई पूर्वाधार, प्रविधि र सञ्चालन मोडल नेपालका लागि उपयोगी हुने उल्लेख गर्दै भ्रमणले महत्त्वपूर्ण प्रेरणा प्राप्त भएको बताए।
नेपाली प्रतिनिधिमण्डलले सिओल एआई फाउण्डेसनद्वारा सञ्चालित एआई सिटी, एआई सेन्टर तथा त्यहाँ चलिरहेका परियोजनाको अवलोकन गरेको थियो। भ्रमणपछि मन्त्री खरेलले कोरियाली एआई अभ्यासबाट प्राप्त अनुभवले नेपालमा भर्खरै सुरु भएको एआई केन्द्रलाई व्यवस्थित रूपमा अघि बढाउन आधार पुग्ने धारणा व्यक्त गरे।
उनका अनुसार, हाल एउटा कोठाबाट सञ्चालन थालिएको एआई केन्द्रलाई प्रभावकारी बनाउने कार्यमा सरकार प्रतिबद्ध छ। त्यहाँका पदाधिकारी तथा विज्ञहरुसँग भएका छलफलमा एआईको सम्भावना, उपयोगिता र भविष्यबारे व्यापक परामर्श भएको पनि उनले जानकारी दिए।
मन्त्री खरेल कात्तिक २५ गतेदेखि सिओलमा चलिरहेको ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन कोरिया पुगेका हुन्। कोरियाको विज्ञान तथा आइसीटी मन्त्रालय र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआईए)द्वारा संयुक्त रूपमा आयोजना गरिएको फोरम डिजिटल नेपाल तथा डिजिटल रूपान्तरणका एजेण्डालाई सुदृढ बनाउन उपयोगी भएको उनले बताए। उनको टोलीमा स्वकीय सचिव उद्धव भट्टराई सहभागी थिए। फोरममा कोरियास्थित नेपालका राजदूत डा. शिवमाया तुम्बाहाम्फे समेत उपस्थित थिइन्।


