काठमाण्डौ — साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१३ अंकले वृद्धि भई २५४५ अंकमा कायम भएको छ। दिनभरको उतारचढावबीच नेप्सेले सानो वृद्धि दर्ता गरेको हो।
दिउँसो १२:३१ बजे नेप्से २५३० अंकसम्म झर्दा आजको न्यूनतम विन्दु कायम भएको थियो भने २:०६ बजे परिसूचक २५५९ अंकमा पुग्दै दिनको उच्चतम विन्दुमा पुगेको थियो।
सेयर बजारमा झिनो अंकको वृद्धि भए पनि ६ कम्पनीको मूल्य १० प्रतिशतले उकालो लागेको छ। ती कम्पनीहरूमा माबिलुङ इनर्जी, स्वेतगंगा हाइड्रोपावर, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर, बन्दीपुर केबुलकार र रुरु जलविद्युत् परियोजना छन्।
आज १२३ कम्पनीको मूल्य बढ्दा १२४ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम अघिल्लो दिनको तुलनामा घट्दै आज ३ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिन ३ अर्ब ८४ करोडको कारोबार भएको थियो।
समूहगत सूचक मिश्रित
समूहगत सूचकमा मिश्रित परिणाम देखियो। बैंकिङ ०.१२, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.२२ र व्यापार समूह ०.७९ प्रतिशतले बढे। तर अन्य ०.२४, निर्जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२९, जीवन बीमा ०.२३, लगानी ०.०७ र विकास बैंक ०.०८ प्रतिशतले घटे।
उल्लेखनीय उतारचढाव
दरमखोला हाइड्रो इनर्जी ६.८८ प्रतिशत, भूगोल इनर्जी ४.९९ प्रतिशत र दोल्ती पावर ४.२० प्रतिशतले बढे। विपरीत, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ४.८२ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट दर्ता गर्यो। इस्टर्न हाइड्रोपावर ३.७०, बेस्ट फाइनान्स ३.१८ र सुपर मादी २.५० प्रतिशतले ओरालो लागे।
धेरै कारोबार भएका कम्पनीहरू
आज सर्वाधिक कारोबार भएका कम्पनीहरूमा हिमालयन पावर पार्टनर, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जा रहेका छन्।


