Banner Nepal
दिल्ली कार बम विस्फोटपछि नेपाल–भारत नाकामा हाइ अलर्ट

काठमाण्डौ — भारतको राजधानी दिल्लीमा भएको कार बम विस्फोटपछि नेपाल–भारत सीमाका नाकाहरूमा सुरक्षा सतर्कता उच्च गरिएको छ। विशेषगरी बाँकेस्थित जमुनाहा नाकामा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै आवागमनमा कडाइ बढाएको जनाएको छ।

सशस्त्र सीमा बल (एसएसबी)का कमान्डेन्ट गंगासिंह उदावतका अनुसार नाकाबाट आउने–जाने प्रत्येक व्यक्ति र सवारी साधनमाथि विस्तृत जाँच भइरहेको छ। यात्रुहरूको परिचयपत्र अनिवार्य रूपमा जाँच गरेर मात्रै प्रवेश अनुमति दिइएको छ भने तालिम प्राप्त कुकुरमार्फत सवारीसाधनको चेकजाँच पनि बढाइएको छ।

उदावतले नेपालगन्ज नाकालाई उच्च संवेदनशील क्षेत्रका रूपमा लिएर प्रहरी र एसएसबीको संयुक्त टोलीले ग्रामीण क्षेत्रमा समेत गस्ती तीव्र पारेको जानकारी दिनुभयो।

सीमापारि भारतीय रुपैडिहा प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक रमेश सिंहका अनुसार केन्द्रबाटै सबै नाकामा निगरानी कडाइका निर्देशन प्राप्त भएका छन्। त्यसअनुसार सीमा क्षेत्रमा पेट्रोलिङ र चेकजाँचलाई थप सुदृढ बनाइएको छ।

दिल्लीको ऐतिहासिक लालकिल्ला अगाडि भएको कार बम विस्फोटमा १३ जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएका थिए। उक्त घटनापछि भारतले सिमाना जोडिएका सबै नाकामा सुरक्षा सतर्कता उच्च गर्दै व्यापक जाँच सुरु गरेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update