Banner Nepal
सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि गर्ने आईजीपी कार्कीको निर्णय

काठमाण्डौ — प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मका प्रहरी कर्मचारीका लागि सहुलियत कर्जा वृद्धि गर्ने निर्णय गर्नुभएको छ।

आईजीपीको दर्ज्यानी चिन्ह ग्रहण गरी प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्दै कार्कीले आफ्नो पहिलो निर्णयका रूपमा प्रहरी कर्मचारीका लागि सहुलियत कर्जा बढाउने निर्णय लिनुभएको हो। उक्त निर्णय प्रहरी नीतिगत समन्वय समिति (पीसीसी)बाट पारित भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबी नारायण काफ्लेले जानकारी दिनुभयो।

मन्त्रालयका अनुसार आकस्मिक अवस्थाका लागि अब प्रहरी कर्मचारीले आकस्मिक सहुलियत अल्पकालीन कर्जा पाउने छन्। यसका लागि १० करोड रुपैयाँ कोष छुट्याउने तयारी भइरहेको छ। शिक्षा, स्वास्थ्य तथा घरायसी आवश्यकता पूरा गर्न विशेष कार्यविधि बनाएर यो कर्जा वितरण गरिनेछ।

हाल प्रहरीमा पाँच प्रतिशत वार्षिक ब्याजदरका दरले सहुलियत कर्जा उपलब्ध हुँदै आएको छ। सो कर्जा एक वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था यथावत् रहने बताइएको छ।

आईजीपी कार्कीको यो निर्णयलाई प्रहरी संगठनभित्र कर्मचारी कल्याणमुखी कदमका रूपमा लिइएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update