Banner Nepal
ट्रम्पको दाबीः ‘भन्सार खारेज भए अमेरिकालाई ३० खर्ब डलर घाटा’

काठमाण्डौ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी वस्तुमा लगाइएको भन्सार सर्वोच्च अदालतले खारेज गरे अमेरिकालाई ३० खर्ब डलरभन्दा बढी आर्थिक घाटा हुने दाबी गरेका छन्।

ट्रम्पले दोस्रो कार्यकालमा प्रवेश गरेपछि सबै मुलुकका उत्पादनमा भन्सार लागू गरेका थिए। तर अमेरिकी संसदले मात्रै कर निर्धारण गर्नसक्ने संवैधानिक अधिकारको उल्लंघन भएको आरोपसहित विभिन्न समूहहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

मुद्दाको सुनुवाइ जारी रहेका बेला ट्रम्पले अदालतले भन्सार खारेज गरेमा उठिसकेको राजस्व फिर्ता दिनुपर्ने, आगामी भन्सार असुली रोकिने र व्यापार सम्झौतामार्फत प्राप्त लगानीसमेत प्रभावित हुने बताउँदै कुल घाटा ३० खर्ब डलरभन्दा बढी पुग्ने दाबी दोहोर्याए। साथै उनले विदेशी वस्तुमा लगाएको भन्सारबाट संकलित रकमबाट प्रत्येक अमेरिकी नागरिकलाई दुई हजार डलर वितरण गर्ने प्रतिज्ञा पनि पुनः उच्चारण गरे।

तर अमेरिकी अनलाइन पत्रिका Axios का अनुसार, अमेरिकाले हाल भन्सारबाट प्रतिमहिना करिब ३० अर्ब डलर मात्र उठाइरहेको छ, जसअनुसार वार्षिक आम्दानी झण्डै ४ खर्ब २० अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ।

यस्तै, जापान, दक्षिण कोरिया र युरोपेली संघले अमेरिकामा आगामी वर्षहरूमा करिब १५ खर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाए पनि ती लगानीहरू दीर्घकालीन हुने स्पष्ट गरिएको छ। ट्रम्पले भने ती रकमलाई तत्काल भुक्तानी हुनेजस्तो प्रस्तुत गर्दै आर्थिक उपलब्धिको दाबी गरेका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update