काठमाण्डौ — झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार निरौला २०५५ सालमा प्रावि तहको शिक्षकका रूपमा अस्थायी नियुक्ति पाएकी थिइन्। पछि २०७५ चैत २८ गते स्थायी नियुक्ति प्राप्त गरी हालसम्म तृतीय श्रेणीकी स्थायी शिक्षिका रूपमा कार्यरत रहेको पाइएको छ।
आयोगको अनुसन्धानबाट उहाँले बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट जारी भएको मध्यमा परीक्षा उत्तीर्ण गरेको भन्दै नक्कली प्रमाणपत्र प्रयोग गरी नियुक्ति लिएको खुलासा भएको छ।
फर्जी योग्यता पेस गरी तलब, भत्ता र सरकारी सेवा सुविधासमेत प्राप्त गरेको प्रमाणित भएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २०५९ को दफा १६(१) अनुसार कैद र जरिवानाको मागसहित बुधबार विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरेको जनाएको छ।


