काठमाण्डौ — गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँको पेशागत दक्षता र बौद्धिकताले प्रहरी संगठनमा मनोबल सुदृढ बनाएको बताउनुभएको छ।
३० वर्षे अनिवार्य सेवापछि बुधबार अवकाशमा जान लागेका आईजीपी खापुङलाई बिदाइ गर्दै मन्त्री अर्यालले उहाँको अनुभव राष्ट्रका लागि अझै उपयोगी रहन सक्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “आईजीपीसँगको समय छोटो भए पनि सम्बन्ध विशेष रह्यो। नेतृत्व र कार्यकुशलताले नै राष्ट्रलाई सफलताको दिशामा डोर्याउँछ।”
मन्त्री अर्यालले अवकाशपछि पनि राष्ट्रप्रति दायित्व अन्त्य नहुने बताउँदै, “अवकाश हुँदैमा छुट हुँदैन, तपाईंहरूको योगदान यो मुलुकले सधैं अपेक्षा गरिरहन्छ,” भन्नुभयो।
गृह सचिव रामेश्वर दंगालले पनि खापुङको कार्यकुशलताको प्रशंसा गर्दै गृह प्रशासन र सुरक्षाको लक्ष्य एउटै रहेको उल्लेख गर्नुभयो। उहाँले खापुङको अवकाशपछिको जीवन सफल, सुखमय र ऊर्जाशील रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
बिदाइ कार्यक्रममा आईजीपी खापुङले सेवामा सफलताको मूल मन्त्र निष्ठा र लगनशीलता भएको बताउँदै संगठनका सबैमा त्यही भावनाको निरन्तरता रहोस् भन्ने कामना गर्नुभयो।
सो अवसरमा गृहमन्त्री अर्याल र सचिव दंगालले खापुङलाई मायाको चिनो, फूलमाला र खादा अर्पण गरी सम्मानपूर्वक बिदाइ गर्नुभयो।


