Banner Nepal
कैलालीमा काठ तस्कर पक्राउ

काठमाण्डौ – कैलालीको भारताल साझेदारी वन उपभोक्ता समूह क्षेत्रभित्र काठ तस्करीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। साझेदारी वन र सब–डिभिजन वन कार्यालय फूलबारीको संयुक्त गस्ती टोलीले सोमबार राति धनगढी–१५ का करण रानालाई नियन्त्रणमा लिएको हो।

सब–डिभिजन वन कार्यालय फूलबारीका प्रमुख कपिल रावलका अनुसार पक्राउ परेका रानामाथि वन ऐनअनुसार कानुनी प्रक्रिया अघि बढाइनेछ। गस्ती टोलीले काठ तस्करीका लागि प्रयोग गरिएका चार वटा मोटरसाइकल, काठ काट्न प्रयोग गरिएका हतियार तथा डोरी समेत बरामद गरेको भारताल साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष यादव भण्डारीले जानकारी दिनुभयो।

मोटरसाइकल छोडेर भागेका अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ। पछिल्ला दिनमा वन क्षेत्रमा काठ चोरी तथा तस्करीका घटना बढेपछि नियमित संयुक्त गस्ती कडाइका साथ सञ्चालन गरिएको वन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update