Banner Nepal
ऐतिहासिक सगरमाथा आरोहण मार्ग पुनः सञ्चालन हुँदै

काठमाण्डौ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ऐतिहासिक नुप्से हिमालतर्फको मार्ग पुनः सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। सन् १९५३ मा न्यूजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले प्रयोग गरेको सो पुरानो मार्ग करिब ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको पर्यटन विभागले जानकारी दिएको छ।

विभागका निर्देशक हिमाल गौतमका अनुसार उक्त बाटो अहिले प्रयोग भइरहेको खुम्बु आइसफल मार्गको तुलनामा धेरै सुरक्षित मानिन्छ। यही कारण वसन्तयामभित्र नै सो मार्ग औपचारिक रूपमा खुलाउने तयारी भइरहेको विभागको भनाइ छ। नयाँ मार्ग नुप्से हिमालको फेदीबाट खुम्बु आइसफल छलेर सगरमाथा आरोहणमा पुग्ने भएकाले जोखिम घट्ने अपेक्षा गरिएको छ।

खुम्बु आइसफल सगरमाथा आरोहणको सबैभन्दा खतरापूर्ण भाग मानिन्छ, जहाँ प्रत्येक वर्ष हिउँ खस्ने र भाँचिने घटनाले आरोहीको ज्यान जाने गर्दछ। सो जोखिमलाई कम गर्ने उद्देश्यले विश्वविख्यात आरोही स्पीडकाजी शेर्पा, फ्रान्सका मार्क वटाई र एन्ट्वान एरोलाई मार्ग खोजी र पुनः सञ्चालनको जिम्मा दिइएको छ।

नयाँ मार्ग निर्माणका लागि आवश्यक खर्च करिब चार लाख अमेरिकी डलर अनुमान गरिएको छ, जसमध्ये अधिकांश रकम फ्रान्सेली दाताहरू तथा पर्वतारोहण संस्थाको सहयोगबाट जुटाइएको जानकारी सार्वजनिक गरिएको छ। सरकारको स्वीकृति र सहजीकरणसहित आयोजना अगाडि बढिरहेको विभागले जनाएको छ।

पर्यटन विज्ञहरूका अनुसार विकल्प मार्ग सञ्चालनमा आएपछि सगरमाथा आरोहणको सुरक्षा स्तर बढ्ने, आरोहीहरूको संख्या वृद्धिसँगै स्थानीय रोजगारी र पर्यटन आम्दानीमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ। यो परियोजना नेपालका पर्वतारोहण इतिहास, पहिचान र गौरवलाई पुनः उजागर गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update