Banner Nepal
अध्यक्ष राउतको अभिव्यक्तिलाई लिएर जनमत भित्रै असन्तुष्टि

काठमाण्डौ — जनमत पार्टीका अध्यक्ष सिके राउतले देश विभाजनसम्बन्धी हालै व्यक्त गरेको अभिव्यक्तिप्रति पार्टीभित्रैबाट गम्भीर आपत्ति जनाइएको छ । राउतको स्वायत्त मधेस प्रदेशको धारणा पार्टीको मूल सिद्धान्त, संघीय लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको भावनाविपरीत रहेको भन्दै पार्टी भित्रै असन्तुष्टि बढेको हो । पार्टीका कोशी प्रदेश कमिटी अध्यक्ष बुद्धिराज न्यौपानेले विज्ञप्ती मार्फत राउतको अभिव्यक्ति पार्टीको धारणा नभएको बताएका हुन् । 

जनमत पार्टी नेतृत्वका अनुसार पार्टीको नीति संघीयता, समान अधिकार, समावेशिता र न्यायपूर्ण प्रतिनिधित्वमा आधारित भएको भन्दै नेता न्यौपानेले मधेशसहित सम्पूर्ण नेपाली जनताको राजनीतिक, सामाजिक र आर्थिक अधिकार सुरक्षित गर्न संघर्षरत जनमतको एजेन्डा  विभाजन र बिखण्डन भएको प्रष्ट पारेका छन् ।  
अध्यक्ष राउतको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको उल्लेख गर्दै उनले कार्यकर्ता, समर्थक र आम जनताबीचको एकता, सहकार्य तथा साझा राष्ट्रिय हित जोगाउन सबै एक ठाउँमा उभिनुपर्ने उल्लेख गरेका छन् । 

यस्तै, पश्चिम कैलालीदेखि चितवनसम्म थारुवान राज्यको माग,  कोशी प्रदेशलाई पहिचानसहित कायम राख्नुपर्ने आवाज संघीय लोकतान्त्रिक संविधानको भावनासँग मेल खाने माग भएको उनको भनाइ छ ।  सोही आधारमा कोचिला राज्यको माग पनि संविधानले सुनिश्चित गरेको पहिचान र स्वशासनको अधिकारसँग सम्बद्ध रहेको न्यौपानेको तर्क छ।

अध्यक्ष राउतले देश नै टुक्र्याउने प्रकृतिको अभिव्यक्ति दिँदै संविधानलाई चुनौती दिएको न्यौपानेको आरोप छ। जेनजी आन्दोलनका क्रममा सुशासन र भ्रष्टाचारविरुद्ध सहादत प्राप्त शहीदहरूको रगत सेलाउन नपाउँदै संसद् पुनर्स्थापना हुने कुरा उठाउनु तथा सोही आन्दोलनले अपदस्थ गरेका व्यक्तिहरूसँग राउतले गरेको भेटघाट प्रति पनि न्यौपानेले शंका गरेका छन् ।

उनले मधेश र नेपाल एकअर्काको अविभाज्य हिस्सा भएको भन्दै मधेस अलग नहुने भन्दै देशको अखण्डता र राष्ट्रिय एकतामा कुनै सम्झौता नगर्ने प्रष्ट्याएका छन् । 

कोशी-प्रदेश-समन्वय-समिति-विराटनगर-1762859774.jpg
 

 

 


 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update