काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देशभरका विभिन्न जिल्ला निर्वाचन कार्यालयमा भएको तोडफोड र आगजनीबाट करिब पाँच करोड ७४ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
आयोगका अनुसार इलाममा सवारीसाधन र कार्यालय सामग्रीमा भएको नोक्सानी ८१ लाख ९३ हजार रुपैयाँभन्दा बढी छ। मोरङमा झ्यालका सिसा फुटाइएका तथा अन्य सामग्री जलाइएका कारण १७ लाख ४२ हजार रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।
सप्तरीमा मोटरसाइकल, कागजात र उपकरण जलेपछि १ करोड ४७ लाख रुपैयाँभन्दा बढी हानि भएको छ। काठमाडौँ जिल्ला कार्यालयमा सवारीसाधनका सिसा फुट्दा करिब ५० हजार रुपैयाँको क्षति भएको उल्लेख छ।
चितवनमा सवारीसाधन र कार्यालय सामग्रीमा आगलागी हुँदा २ करोड ३१ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको आयोगले जनाएको छ। कास्कीमा चारपांग्रे सवारीसाधन र मोटरसाइकल जलेका साथै कार्यालय फर्निचर तथा सिसा फुट्दा ७३ लाख ४० हजार रुपैयाँ बराबर हानि पुगेको छ।
तनहुँमा बोलेरो जीप क्षतिग्रस्त हुँदा ३ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानी देखिएको छ भने दाङमा चारपांग्रे सवारीसाधन पूर्ण रूपमा नष्ट भई ५१ लाख ७१ हजार रुपैयाँ बराबरको क्षति भएको छ। डडेलधुरामा कार्यालय भवन, सवारीसाधन र सामग्री तोडफोड हुँदा १४ लाख ४ हजार रुपैयाँ बराबर हानी भएको छ।
आयोगको केन्द्रीय कार्यालयमा पनि एउटा मोटरसाइकल क्षतिग्रस्त भई करिब ३ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।
आयोगले सबै जिल्ला र केन्द्रिय कार्यालय गरी कुल क्षति पाँच करोड ७४ लाख रुपैयाँको स्तरमा पुगेको पुष्टि गरेको छ।


