Banner Nepal
रास्वपाले समानुपातिक उम्मेदवार आवेदनको शुल्क ५० हजार निर्धारण

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुक व्यक्तिहरूका लागि ५० हजार रुपैयाँ आवेदन शुल्क निर्धारण गरेको छ। २२ कात्तिकदेखि आवेदन प्रक्रिया खुला गरिएको पार्टीले जानकारी दिएको छ।

निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फको बन्द सूची पेस गर्ने मिति पुस १८ र १९ गते तय गरिएको छ। सोही तयारीअन्तर्गत रास्वपाले उम्मेदवार छनोटका लागि स्पष्ट मापदण्ड बनाउने जिम्मेवारी सहमहामन्त्री विपीन आचार्यलाई प्रदान गरेको थियो।

आचार्यका अनुसार उम्मेदवारले आफू कानुनी रुपमा योग्य रहेको, सार्वजनिक पदको दुरुपयोग नगरेको, द्वेष फैलाउने गतिविधिमा संलग्न नभएको र वैध आयस्रोत रहेको स्वघोषणा गर्नुपर्नेछ। अनलाइन वा भौतिक फाराममार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

समानुपातिक सूचीमा परे पनि मत परिणामका कारण प्रतिनिधित्व गर्न नसक्ने अवस्थामा शुल्क फिर्ता नहुने पार्टीले स्पष्ट गरेको छ। यसअघि रुपन्देही–३ उपनिर्वाचनका उम्मेदवारका लागि २५ हजार शुल्क तोकिएको थियो।

रास्वपाले अघिल्लो प्रतिनिधि सभा चुनावमा समानुपातिक तर्फ उम्मेदवार बनेकाहरूलाई यसपटक पुनः उम्मेदवार बन्न नपाइने निर्णय समेत गरेको छ। अन्तिम सूची निकाल्दा नेतृत्व विकास प्रशिक्षण, राजनीतिक निकटता मूल्यांकन तथा प्रदेशगत प्रतिनिधित्वसहित अंक प्रणालीका आधारमा छनोट गर्ने तयारी पार्टीले गरेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update