Banner Nepal
बागमतीमा मतदाता दर्तामा युवाको बढ्दो चहलपहल

काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशका विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउन आउनेको संख्या तीव्र रूपमा बढ्दै गएको छ। विशेषगरी १८ देखि २५ वर्ष उमेर समूहका युवाहरु बढी संख्यामा दर्ता गराइरहेका छन्।

गत असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली सङ्कलन अभियानले चाडपर्वपछि अझै गति लिएको हो। अध्ययन र रोजगारीका कारण बसोबास स्थल परिवर्तन भएका युवाले आफ्नो वर्तमान बसोबास स्थलबाटै मतदाता दर्ता गराउन पाउने व्यवस्था भएपछि मतदाता दर्तामा युवा पुस्ताको आकर्षण बढेको निर्वाचन कार्यालयहरुले जनाएका छन्।

बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार हाल दैनिक करिब ४ सयको हाराहारीमा मतदाता नामावली दर्ता गराउन आउने गरेका छन्। “२५ वर्षभन्दा कम उमेरका युवाको सहभागिता उल्लेख्य छ। विगतमा दर्ता गर्न छुटेकाहरू समेत अहिले आएर दर्ता गराइरहेका छन्,” ढकालले बताए।

मकवानपुरमा मात्रै यसअघि तीन लाख दुई हजार २४३ मतदाता रहेकोमा हालसम्म दुई हजार ७८२ जनाले नयाँ दर्ता गराएका छन्। चितवनमा पाँच हजार ७८८ जनाले नयाँ नामावली दर्ता गराएका छन्, जसमा करिब ९० प्रतिशत युवा रहेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए।

सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङमा समेत नयाँ मतदाता दर्ता सङ्ख्या क्रमशः वृद्धि हुँदा प्रदेश भरि युवामाझ आगामी निर्वाचनप्रति विशेष चासो देखिएको छ। अधिकांश स्थानमा नागरिकता लिएसँगै पहिलोपटक मतदाता दर्ता गराउन आउने युवाको सङ्ख्या उल्लेखनीय पाइएको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार, कात्तिक २३ गते एकैदिन १६ हजार ९३७ जनाले मतदाता नामावलीमा नाम थपेका छन्। हालसम्म देशभर एक लाख ६३ हजार ६०० जनाले दर्ता गराइसकेका छन्।

स्थानीय कार्यालयका अनुसार यसपटक दर्तामा राजनीतिक दलको संगठित अभियानभन्दा स्वतःस्फूर्त सहभागी युवाको उपस्थिति नै मुख्य आधार बनेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update