काठमाडौँ। उर्जामन्त्री कुलमान घिसिङ नेतृत्वमा बन्न लागेको नयाँ राजनीतिक दल ‘उज्यालो नेपाल’ नाममा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आइतबार राति बसेको बैठकले यसअघि तय भएको ‘नेपाल जनसेवा पार्टी’ नाम बदल्दै ‘उज्यालो नेपाल’ नाम लिएर निर्वाचन आयोगमा जाने सहमति बनाईएको हो।
दल दर्ताका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अन्तरिम संयोजक बनाइने तय भएको छ। प्रारम्भिक चरणमा अन्य पदाधिकारी मनोनयन नगरी उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरिने बुझिएको छ। चुनाव चिन्ह भने पहिले नै प्रस्ताव गरिएको ‘बिजुलीको चिम’ नै रहनेछ।
घिसिङ निकट स्रोतका अनुसार प्रारम्भिक संरचना तय भएपछि दोस्रो चरणमा अन्य पदाधिकारी तथा थप सदस्य विस्तार हुनेछन्। अहिले केन्द्रीय समितिमा रहने व्यक्तिहरूको नाम फ्रिज गर्ने कार्य तथा कागजी प्रक्रिया टुंग्याउने तयारी भइरहेको छ। स्रोतका अनुसार सकेसम्म आजभरि नै दर्ता प्रक्रिया पूरा गर्ने प्रयास भइरहेको छ, नभए भोलिसम्ममा आयोगमा निवेदन पेस गरिनेछ।


