काठमाण्डौ – गजामा भएको नरसंहार र मानवताविरुद्धका अपराधमा संलग्न भएको आरोपमा टर्कीले इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। इस्तानबुल सार्वजनिक अभियोजकको कार्यालयले नेतन्याहूसहित ३७ इसराइली अधिकारीविरूद्ध मुद्दा दर्ता गर्दै पक्राउ आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
पक्राउ आदेशमा रक्षामन्त्री इसराइल कात्ज, राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिर, तथा सेनाप्रमुख इयाल जामिर पनि समावेश छन्। अभियोजक पक्षका अनुसार हालै गजामा गरिएका सैन्य आक्रमण तथा राहत लिएर जाँदै गरेका ट्रकमाथि इसराइली सेनाले गरेको प्रहारमा उनीहरूको सीधा भूमिका रहेको आरोप छ।
टर्कीको यो कदमलाई इसराइलले कडा विरोध जनाएको छ। इसराइली विदेश मन्त्री गिडेओन साआरले यसलाई राष्ट्रपति रेसेप तय्यिप एर्दोगानको राजनीतिक प्रचारको हिस्सा भनेका छन्। तर, हमासले भने टर्कीको कदमको स्वागत गर्दै यसलाई ‘न्याय र मानवीय संवेदनाको अभिव्यक्ति’ भएको प्रतिक्रिया दिएको छ।
यस घटनासँगै गजाका लागि अमेरिकी मध्यस्थतामा प्रस्तावित बहुराष्ट्रिय सुरक्षा बलमा टर्कीको भूमिकामाथि नयाँ प्रश्न उठेको बताइँदैछ। हालै इस्लामिक बहुल मुलुकहरूको बैठकमा ‘इन्टरनेशनल स्टेबिलाइजेशन फोर्स’ गठनबारे छलफल भएको थियो, जसले गजामा स्थायित्व कायम र स्थानीय सुरक्षा निकायलाई तालिम दिने जिम्मेवारी पाउने अनुमान छ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले पनि गत वर्ष नेतन्याहूविरुद्ध युद्ध अपराधका मुद्दामा पक्राउ पुर्जी जारी गरिसकेको थियो।

