काठमाण्डौ – सप्तरी प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ। सुरुङ्गा नगरपालिका–४ कनकपुर चोकमा पक्राउ गरिएको उनीहरूलाई शुक्रबार साँझ गस्तीमा रहेकाले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सोही वडाका २५ वर्षीय अमिर कान्त चौधरी र २४ वर्षीय दिपक कुमार चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय भेडिया अन्तर्गतको टोलीले कदमाहातर्फबाट भेडिया आउँदै गरेका दुवैलाई रोकि जाँच गर्दा दिपक चौधरीको हातमा रहेको कालो प्लास्टिकभित्र तीनवटा साना पुरिया फेला पारेको प्रहरीले जनाएको छ।
पुरिया परीक्षण गर्दा ब्राउनसुगर जस्तो देखिने लागुऔषध भेटिएको र तौल गर्दा प्लास्टिकसहित ०.२८० ग्राम तथा प्लास्टिक हटाएपछि ०.७० ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन्।
पक्राउ परेकाहरूको साथबाट १–१ वटा रियलमी कम्पनीका स्क्रिन टच मोबाइल पनि बरामद गरिएको छ। दुवैजनामाथि लागुऔषधसम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

