Banner Nepal
पूर्वसांसद् तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन

काठमाण्डौ – नेपाली कांग्रेसका पूर्वसांसद् तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ । राजधानीस्थित काठमाडौँ मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा गएराति करिब साढे दुई बजे उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

दीर्घ समयदेखि मिर्गौलासम्बन्धी गम्भीर समस्या भोग्दै आएका आलमको नियमित डायलाइसिस हुँदै आइरहेको थियो। स्वास्थ्य अवस्थामा निरन्तर जटिलता बढेपछि पछिल्ला केही दिनयता गहन निगरानीमा राखेर उपचार गर्नुपरेको चिकित्सकहरूले बताएका छन्।

रौतहट क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका आलमले विगतमा वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

रौतहटको राजापुरमा २०६४ चैतमा भएको बम विस्फोटसँग सम्बन्धित घटनामा दोषी ठहर गर्दै जिल्ला अदालतले उनलाई जन्मकैद सजाय सुनाएको थियो। तर पुनरावेदनपछि वीरगन्ज उच्च अदालतले सो निर्णय उल्ट्याएपछि उनी २०८१ जेठमा नख्खु कारागारबाट मुक्त भएका थिए। कारागारबाट बाहिरिएपछि उनको स्वास्थ्य अवस्था झनै कमजोर बन्दै गएको पारिवारिक पक्षले जनाएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update