देशका विभिन्न स्थानमा प्रहरीले अवैध लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आशङ्कामा १४ जना पक्राउ गरेको छ। झापा, मोरङ, तनहुँ, सर्लाही, चितवन र मकवानपुरबाट बिहीबार अलग–अलग समयमा प्रहरीले खैरो हेरोइन, ब्राउनसुगर, गाँजा, ट्रामाडोल र प्रोमेथिनलगायतको ठूलो परिमाण बरामद गरेको हो।
झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट २ ग्राम १३० मिलिग्राम ब्राउनसुगरसहित पुरण विश्वकर्मा पक्राउ परेका छन्। सोही दिन मेचीनगर–६ बाट ४५ ग्राम ९३० मिलिग्राम खैरो हेरोइनसहित राजु श्रेष्ठ पक्राउ परेका छन्। चारआली चोकमा स्कुटर चेकजाँचका क्रममा ६० ट्याब्लेट ट्रामाडोल सहित प्रशान्त सेन्चुरी पक्राउ परेका छन्।
मोरङको बिराटनगर–१६ दरैया चोकमा भारतबाट मोटरसाइकलमा आएका सुशान्त पोखरेल र चेवन धिमालको साथबाट ११ ग्राम २२ मिलिग्राम हेरोइन फेला परेपछि उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरोले नियन्त्रणमा लिएको छ।
तनहुँको व्यास–४ भृकुटी मार्गस्थित एक कोठाबाट करिब २ किलो ३०० ग्राम गाँजा फेला परेपछि अटल तामाङ, रोहित गुरुङ, संगम थुङसिङ र अर्जुन थापा पक्राउ परेका छन्। सर्लाहीको धनकौल–४ हरकठवाबाट ११ किलो ४२० ग्राम गाँजासहित सुरेन्द्र राय र आकास प्रजा पक्राउ परेका छन्।
चितवन रत्ननगर–२ बाट प्रोमेथिन ८० र ट्रामाडोल ७३ ट्याब्लेट सहित चन्दना परियार र पवित्रा खत्रीलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको हेटौँडा–१५ रातोमाटेमा चेकजाँचका क्रममा ४९० मिलिग्राम खैरो हेरोइनसहित सतिश मगर पक्राउ परेका छन्।
संपूर्ण घटनाहरू सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

