जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति निरन्तर असन्तुष्टि व्यक्त गरेका छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग गृहमन्त्रीको भेटपछि गुरुङले जेनजी आन्दोलनका घाइते तथा मृतक परिवारको अवस्थाप्रति सरकार उदासीन रहेको आरोप लगाएका हुन्।
गुरुङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गृहमन्त्रीले सहिदका परिवार, घाइते तथा अपाङ्गता भोगिरहेका आन्दोलनकारीहरूलाई खोजेर अवस्था बुझ्नुपर्नेमा त्यसतर्फ ध्यान नदिएको प्रश्न उठाए। उनका अनुसार आन्दोलनका क्रममा केहीले ज्यान गुमाएका छन्, केहीको अंगभंग भएको छ, कतिपय परिवार टुहुरा बनेका छन्, तर राज्यको सहानुभूति र जिम्मेवारीपूर्ण व्यवहार देखिन सकेको छैन।
गुरुङले गृहमन्त्री अर्यालको नैतिक जिम्मेवारी कायमै राख्दै राजीनामा माग गर्दै आएका छन्। उनले केही दिनअघि नै दुई दिनको अल्टिमेटम जारी गर्दै पीडितहरूको पक्षमा सकारात्मक कदम चाल्न आग्रह गरेका थिए।
जेनजी आन्दोलनका पीडित परिवारको राहत, उपचार तथा दीर्घकालीन पुनर्स्थापनाको माग अझै पूर्ण रूपमा सम्बोधन भइसकेको छैन भने सरकारको प्रतिक्रियालाई आन्दोलन पक्षले पर्याप्त ठानेको छैन।

