Banner Nepal
चितवनमा रास्वपाको विस्तारित बैठक सुरु, प्रतिवेदन तथा संगठन प्रस्तावमाथि छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ। दुई दिन चल्ने यो बैठक बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको हो। बैठकमा पार्टीको राजनीतिक दिशा, आगामी निर्वाचनका लागि रणनीति तथा संगठनात्मक संरचना पुनर्संरचनाबारे विस्तृत छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि तयार पारिने वाचा पत्रको प्रारम्भिक प्रस्ताव पेस गर्ने र महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक संरचनाबारे आफ्नो प्रस्ताव राख्ने तय छ।

बैठकमा केन्द्रीय, प्रदेश, जिल्ला र क्षेत्रीय तहका पदाधिकारीहरू प्रतिनिधि स्वरूप सहभागी छन्। प्रस्तावहरूलाई समूहगत छलफलमार्फत परिमार्जन र निष्कर्षतर्फ लैजाने भनिएको छ।

यसैगरी, सभापति रवि लामिछानेमाथि भएको भन्दै प्रस्तुत गरिएको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध संकलित हस्ताक्षर अभियानको प्रतिवेदन दीपक बोहराले बैठकमा राख्ने कार्यक्रम छ। बैठकले आगामी महाधिवेशनदेखि नयाँ वैकल्पिक राजनीतिक शक्तिसँग एकता वा सहकार्यबारे भइरहेको संवादबारे पनि निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update