Banner Nepal
विप्लव, जनार्दन र भुसालबीच वाम सहकार्यको सहमति

नेकपाका नेताहरू नेक्रविक्रम चन्द्र ‘विप्लव’, जनार्दन शर्मा र घनश्याम भुसालबीच वामपन्थी एकता अभियानलाई अघि बढाउन सहकार्य गर्ने सहमति भएको छ। विप्लव निवास हात्तीवनमा बिहीबार भएको छलफलमा बृहत् वाम एकताको प्रक्रियालाई सुदृढ बनाउन तीन नेताबीच साझा सहकार्यको समझदारी बनेको बताइएको छ।

छलफलमा सहभागी एक नेताका अनुसार सहमति सार्वजनिक गर्न आज नै संयुक्त विज्ञप्ति जारी गर्ने तयारी भएको छ। यसअघि नेकपा माओवादी र नेकपा (एस) सहित १० वाम घटकबीच भएको एकताप्रति असहमति जनाउँदै जनार्दन शर्मा र घनश्याम भुसाल अलगिएका थिए।

शर्माले माओवादी परित्याग गर्दै ‘प्रगतिशील अभियान’ को नयाँ प्रारम्भको घोषणा गरिसकेका छन् भने भुसालले नेकपा (एस) पुनर्गठन प्रक्रिया अघि बढाइरहेका छन्। त्यस्तै, १० वाम पार्टीको एकता प्रक्रियामा विप्लव नेतृत्वको नेकपा पनि विभाजनको अवस्थाबाट गुज्रिंदै आएको छ।

यी तीन नेताहरूबीच लामो समयदेखि भइरहेको संवाद अहिले सहकार्यको स्वरूपमा परिणत भएको हो। नेताहरूका अनुसार यो सहमति वाम विचार, संगठनात्मक पुनर्संरचना र आगामी राजनीतिक भूमिका निर्धारणमा महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update