रुकुमपश्चिमको चौरजहारीमा नेपाली सेनाको चण्डीदल गणले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन्। बिहिबार चौरजहारी नगरपालिका–२ मा गरिएको एक दिने शिविरमा ३०४ जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै परामर्श र आवश्यक औषधि निःशुल्क वितरण गरिएको सेनाले जानकारी दिएको छ।
शिविर श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वयमा चौरजहारी नगरपालिका, जिल्ला अस्पताल रुकुमपश्चिम तथा साझा मुराल अस्पतालको सहयोगमा सम्पन्न गरिएको थियो। सेनानी प्रमोद थापाका अनुसार सेवाग्राहीमध्ये २१६ जना महिला र ८८ जना पुरुष रहेका थिए। तीमध्ये भूतपूर्व सैनिक, बहालवाला सैनिक, सर्वसाधारण तथा परिवारका सदस्यहरूसमेत सामेल थिए।
शिविरमा स्त्रीरोग उपचार, सामान्य स्वास्थ्य जाँच, चिकित्सकीय परामर्श तथा औषधि वितरण जस्ता सेवा प्रदान गरिएको थियो। गाउँमै विशेषज्ञको सेवा उपलब्ध भएपछि स्थानीयवासी प्रशन्न भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताए। उनका अनुसार दुर्गम क्षेत्रमा यस प्रकारका स्वास्थ्य सेवा कार्यक्रम अत्यावश्यक छन्।
मेडिकल टोली श्री नं. १९ बाहिनी गुल्मका डा. मिलन भण्डारीको नेतृत्वमा परिचालित भएको थियो। डा. भण्डारी, डा. दीपक पुन तथा अन्य स्वास्थ्यकर्मीहरूले शिविरमा उपचार सेवा प्रदान गरेका थिए।
शिविर चण्डीदल गणका गणपति बिनिश श्रेष्ठको मुख्य उपस्थितिमा सम्पन्न भएको हो। यसमार्फत रुकुमपश्चिमसँगै सल्यान र जाजरकोट जिल्लाका सर्वसाधारणले पनि स्वास्थ्य सेवा पाएका थिए। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ रुकुमपश्चिमले शिविर व्यवस्थापनमा सहयोग गरेको थियो।

