काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आइपिएल) का नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) को स्वामित्व बिक्रीबारे गम्भीर समीक्षा सुरु भएको छ। पेय पदार्थ निर्माता डियाजियोको भारतीय सहायक कम्पनी युनाइटेड स्पिरिट्स लिमिटेड (युएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गरेको विवरणमार्फत आरसिबीमा गरेको लगानी पुनर्मूल्यांकन भइरहेको औपचारिक रूपमा जनाएको हो।
करिब दुई अर्ब अमेरिकी डलरसम्म मूल्यांकन गरिँदै आएको आरसिबीलाई युएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीण सोमेश्वरले ‘रणनीतिक तर प्राथमिक व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएको सम्पत्ति’ का रूपमा वर्णन गर्दै यसको व्यवस्थापनबारे पुनरावलोकन आवश्यक भएको बताएका छन्। समीक्षा प्रक्रिया पुरुष र महिला दुवै टोली सम्हाल्ने रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेडसम्म फैलनेछ र आगामी मार्चसम्म निष्कर्ष आउने अपेक्षा गरिएको छ।
सन् २००८ देखि आइपिएलमा सहभागी आरसिबीले यसै वर्ष पहिलोपटक उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। तर विजय उत्सव पछि बैङ्गलोरमा आयोजित स्वागत समारोहमा ठेलमठेल हुँदा ११ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको घटनाले वातावरण शोकपूर्ण बनेको थियो। यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कप्तान विराट कोहली दुवैले गहिरो दुःख प्रकट गरेका थिए।
आरसिबीको स्वामित्वसम्बन्धी समीक्षा र सम्भावित बिक्री भारतीय खेल व्यवसायमा अभूतपूर्व कारोबार बन्ने अनुमान गरिएको छ।


