जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी प्युठानमा पक्राउ
काठमाण्डौ – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला केन्द्रिय कारागार काठमाडौँबाट फरार भएका एक कैदीबन्दीलाई प्रहरीले प्युठानमा पक्राउ गरेको छ। झिमरुक गाउँपालिका–१ का २४ वर्षीय सन्तोष विकलाई जिल्ला प्रहरी कार्यालय प्युठानले बिहीबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक युवनकुमार चौधरीका अनुसार विशेष प्रहरी टोलीले विकलाई उनको घरमै पत्ता लगाई पक्राउ गरेको हो। पक्राउ–पश्चात् उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्यूठान कारागार पठाइएको प्रहरीले जनाएको छ।
फरारकै खोजीमा रहेका अन्य व्यक्तिहरूको विषयमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२ १६:१६
प्रतिक्रिया दिनुहोस्


