समाचार:
काठमाण्डौ – परराष्ट्र मन्त्रालयले हाल राहदानी पुस्तिकाको माग बढेसँगै वितरणमा केही कमी देखिए पनि स्थिति समाधानतर्फ अघि बढिरहेको स्पष्ट पारेको छ। राहदानी अभावबारे बाहिर फैलिएका चर्चाहरू जति गम्भीर नभएको मन्त्रालयको भनाइ छ।
विद्युतीय राहदानी आपूर्तिका लागि मन्त्रालयअन्तर्गतको राहदानी विभागले विसं २०८२ साउनमै नयाँ आपूर्तिकर्तासँग खरिद सम्झौता गरिसकेको छ। सम्झौता अनुसार आवश्यक पूर्वाधार र प्रणाली निर्माणको काम तीव्र गतिमा भइरहेको र आगामी फागुन ११ गतेदेखि नयाँ कम्पनीमार्फत राहदानी उत्पादन सुरु हुने तयारी रहेको मन्त्रालयले जनाएको छ।
प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार विभाग अहिले पुराना र नयाँ आपूर्तिकर्ताबीच ‘हेण्डओभर–टेकओभर’को संक्रमण चरणमा रहेको छ। “फागुन ११ पछि नयाँ सेवा प्रदायकबाट नियमित राहदानी उत्पादन शुरू हुने निश्चित छ,” उहाँले बताउनुभयो।
संक्रमणकालमा अत्यावश्यक अवस्थाका व्यक्तिलाई मात्र राहदानी आवेदन प्रक्रियामा प्राथमिकता दिने निर्णय गरिएको छ। आकस्मिक उपचार, तत्काल रोजगारीको आवश्यकता वा विदेशमा समस्या परेका नागरिकका लागि सेवा निरन्तर राखिने मन्त्रालयले जनाएको छ।
यस्तै, कात्तिक १७ गते साँझ ५ बजेदेखि सार्वजनिक बिदा बाहेक दैनिक एक हजार आवेदन लिने व्यवस्था लागू गरिएको छ, जसले तत्कालको माग व्यवस्थापनमा सहयोग गर्ने अपेक्षा राखिएको छ।
मन्त्रालयले फागुन ११ पछि राहदानी सेवा पूर्ण रूपमा सामान्य हुने भएकाले अत्यावश्यकता बाहेक हालका अवस्थामा आवेदन स्थगित गर्न सबैमा आग्रह गरेको छ।


