Banner Nepal
जेनजी आन्दोलनका क्रममा तीन प्रहरी हत्या प्रकरणमा पाँच अभियुक्त पुर्पक्षका लागि जेल

काठमाण्डौ– जेनजी आन्दोलनको क्रममा तीन प्रहरीको हत्या आरोपमा पक्राउ परेका पाँच जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। प्रहरीले असई मिलन राय, प्रहरी जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङको हत्या प्रकरणमा संलग्न आरोपमा उनीहरूलाई अदालतमा पेश गरी थुनामा राख्ने आदेश प्राप्त गरेको हो।

असई रायको हत्या प्रकरणमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर चौदण्डीगढी–१० का २८ वर्षीय टिकाराम विक विरुद्ध कर्तव्य ज्यान तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता भएको छ। अदालतले दुवैलाई पुर्पक्षका लागि जेल पठाउने निर्णय गरेको छ।

त्यस्तै जवान थापाको हत्या आरोपमा काभ्रे रोशी गाउँपालिका–९ का २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुर थाहा नगरपालिका–७ का २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) पनि थुनामा राखिने भएका छन्। सहायक हवल्दार अमृत गुरुङको हत्या मुद्दामा कैलाली लम्मीचुहा–४ का १९ वर्षीय अनुयम भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन्। भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कैलालीबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

२४ भदौमा भएको जेनजी आन्दोलनमा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो। प्रहरीको अनुसार हाल पनि सोही प्रकरणमा ७ जना हिरासतमा छन्। काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, सुमित तितुङ, दिपक मगर, अलिश श्रेष्ठ र सौरभ तामाङविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केही दिनमै उनीहरूविरुद्ध अदालतमा मुद्दा दर्ता गरिने तयारी गरिएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update