Banner Nepal
कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूतबीच मैत्री सम्बन्ध विस्तारबारे छलफल

काठमाण्डौ– कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि जर्मनीका राजदूत उदो युगेन भोल्जले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–जर्मनीबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी, लगानी, व्यापार तथा पर्यटन प्रवद्र्धनलगायत विषयमा चर्चा भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

भेटका क्रममा कार्यवाहक राष्ट्रपति यादवले सन् १९५८ मा दौत्य सम्बन्ध स्थापनापछि दुवै देशबीच आपसी विश्वास र सहयोग मजबुत रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै यसको निरन्तरताप्रति सन्तोष व्यक्त गरे। उनले उच्चस्तरीय भ्रमण, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी र पर्यटन क्षेत्रलाई द्विपक्षीय सम्बन्धका प्रमुख आधारस्तम्भका रूपमा औँल्याए।

यादवले ‘जेनजी’ आन्दोलनपछि नेपालको लोकतान्त्रिक यात्राले नयाँ गति लिएको उल्लेख गर्दै जनताका अपेक्षाअनुरूप उत्तरदायी र पारदर्शी शासन व्यवस्था निर्माण राष्ट्रिय प्राथमिकता भएको बताए। उनले सरकार आगामी ५ मार्च २०२६ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको पनि जानकारी दिए।

जर्मनी नेपालका प्रमुख विकास तथा व्यापार साझेदारमध्ये एक भएको बताउँदै यादवले १९६१ देखि जर्मनीले प्रदान गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। जलवायु परिवर्तनलगायत अन्तर्राष्ट्रिय मुद्दामा जर्मनीको सक्रिय भूमिकाको प्रशंसा गर्दै उनले भविष्यमा पनि सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे।

नेपाल आगामी वर्ष अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा अघि बढिरहेको उल्लेख गर्दै यादवले सो लक्ष्यलाई दिगो बनाउन पूँजी, प्रविधि, लगानी र साझेदारी अत्यावश्यक रहेको धारणा राखे।

जर्मन राजदूत भोल्जले नेपाल–जर्मनी सम्बन्ध घनिष्ट र स्थिर रहेको बताउँदै नेपालका विकास प्रयासमा जर्मनीको निरन्तर समर्थन जारी रहने आश्वासन दिए।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update