Banner Nepal
देशभर ७५ जिल्लामा डेङ्गु बढ्यो, छ जनाको मृत्यु

काठमाण्डौ– मुलुकका अधिकांश जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र हुँदै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्याङ्क अनुसार हालसम्म ७५ जिल्लामा ७ हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ। सोही अवधिमा छ जनाको ज्यान गएको महाशाखा अन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।

डोल्पा र मनाङ गरी दुई जिल्लामा मात्रै हालसम्म डेङ्गुका बिरामी देखिएका छैनन्। प्रदेशगत हिसाबमा हेर्दा बागमतीमा १ हजार ७६३, गण्डकीमा १ हजार ७७५, लुम्बिनीमा १ हजार १६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५०० र मधेशमा १४७ जनामा संक्रमण पुष्टि भएको छ।

चिकित्सकहरूका अनुसार एडिज जातका लामखुट्टेबाट सारिने यो रोग सफा पानी जम्ने भाँडोहरूमा छिट्टै फैलिन सक्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार उच्च ज्वरो, जोर्नी–मांसपेशी दुख्ने, अत्यधिक थकान, वाकवाकी तथा वान्ता लाग्ने, शरीरमा राता दाग देखिनु डेङ्गुका प्रमुख लक्षण हुन्।

लक्षण देखिएमा चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि सेवन नगर्न उनीहरूले सुझाव दिएका छन्। विशेषगरी ज्वरो बढ्दै जाने, श्वास फेर्न गाह्रो हुने वा पखाला जस्ता समस्या देखिए उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।

चिकित्सकहरूका अनुसार डेङ्गु संक्रमणको जोखिम कात्तिक सम्म रहन सक्ने भएकाले सरसफाइमा ध्यान दिनु र लामखुट्टे नियन्त्रणमा जोड दिनुपर्ने बताइएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update