Banner Nepal
दाउन्ने सडकमा हिलो, पाँच सय बढी गाडी जाम

काठमाण्डौ । लगातारको वर्षापछि पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड हिलाम्य बन्दै जाँदा सवारी आवागमन कठिन बनेको छ। हिलोमा गाडी फस्ने क्रम बढेपछि हाल सडक आवागमन एकतर्फी रहेको नवलपुर प्रहरीले जनाएको छ।

शनिबार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित घ्यु खोलामा ट्रक हिलोमा फसेर रातिसम्म रोकिएको सडक आइतबार बिहान पुनः अवरुद्ध बनेको हो। आज फेरि त्रिसट्ठी मोड, ज्यामिरे चोक र आसपासका स्थानहरूमा ट्रक बिग्रिँदा आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

नेपालका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको सिमेन्ट लोड गरिएको ट्रक र दाङबाट नारायणघाट जाँदै गरेको अर्को ट्रक बिग्रँदा सडकमा अवरोध थपिएको छ। साथै कर्णाली प्रदेशतर्फ गइरहेको बससहित खाली ट्रकहरू पनि बिग्रिएका कारण जाम लम्बिएको छ।

दाउन्ने सडक खण्डमा हिलोमा अड्किएर पाँचवटा सवारी साधन ठप्प भएपछि झण्डै पाँच सय गाडी जाममा परेको प्रहरीको अनुमान छ। जाममा परेका सवारी साधन क्रमशः हटाउँदै सडक सुचारु गर्न प्रयत्न भइरहेको प्रहरीले जनाएको छ।

यात्रुहरूका अनुसार दाउन्ने भागको १४ किलोमिटर दूरी पार गर्न ६ घण्टाभन्दा बढी समय लागिरहेको छ। हिजो माटो लोड गरेको ट्रक जेसीबीको सहायताले हटाएपछि केही समयका लागि सडक खुले पनि वर्षासँगै समस्या दोहोरिएको हो।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update