Banner Nepal
दाङ गढवाका पूर्व प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक लक्ष्मणकुमार रानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। करिब ९५ लाख ९८ हजार रुपैयाँ बराबरको राजस्व हिनामिनामा संलग्न भएको आरोपमा आइतबार विशेष अदालत, काठमाण्डौमा आरोपपत्र पेस गरिएको आयोगले जनाएको छ।

२०७६–०७७ आर्थिक वर्षमा राप्ती नदी क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा लगायतका पदार्थ उत्खननका लागि गाउँपालिकासँग सम्झौता भएको थियो। तर सम्झौतामा तोकिएको मात्राभन्दा ३८ हजार ३५३ घनमिटर बढी नदीजन्य सामग्री उठाइएको र सो अतिरिक्त परिमाणको राजस्व संकलन नभएको आयोगको निष्कर्ष छ।

प्रमुख प्रशासकीय अधिकृत योगीले तीन पटक राजस्व असुलीका लागि पत्राचार गरे पनि पछि कम्पनीसँग मिलेमतो गरी ९५ लाख ९८ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी फुकुवा गरिदिएको आयोगले जनाएको छ। गाउँ कार्यपालिका पनि जानकारीमा नराखी अभिलेखविहीन रूपमा गरिएको यो कार्य बदनियतपूर्ण ठहर गरिएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार योगी र रानामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दफा १७ र ९ अनुसार कैद सजाय तथा बिगो बराबर जरिवानाको मागसहित मुद्दा दायर गरिएको हो।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update