काठमाण्डौ– लगातार वर्षापछि विभिन्न स्थानमा लेदो र पहिरो खसेपछि बीपी राजमार्ग शुक्रबारदेखि पूर्ण रूपमा ठप्प परेको छ। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार वर्षा नरोकेसम्म राजमार्ग संचालनमा ल्याउन कठिनाइ भएको छ।
डिभिजन प्रमुख सुमन योगेशका अनुसार राजमार्गमा निरन्तर हिलो बगिरहेकाले पहिरो पन्छाउने काम सुरु गर्नसमेत नसकिएको अवस्था छ। वर्षा रोकिएलगत्तै डेढ देखि दुई घण्टाभित्र अवरुद्ध हटाएर यातायात सञ्चालन गर्न सकिने उनले बताए।
बीपी राजमार्गको चारसय वेँसी, पिन्थली र मंगलटार क्षेत्रमा बढी लेदो खसेको छ। केही ठाउँमा साना ढुङ्गा हटाइए पनि हिलोको बहाव नरोकेकाले मुख्य खण्डमा काम अघि बढ्न सकेको छैन।
यसैसँग, राजमार्गको स्थायी पुनर्निर्माण काम पनि वर्षाले रोकिएको जनाएको छ। असोजमा आएको पहिरोपछि अस्थायी मार्ग बनाएर चलाइएपनि छठपछि स्थायी पुनर्निर्माण सुरु गर्ने तयारी थियो। वर्षा रोकिएपछि सो काम पुनः थालिने डिभिजनको भनाइ छ।
डिजाइन परिवर्तनको चर्चा समेत उठिरहे पनि प्रमुख योगेशले अहिले डिजाइन पूर्ण रूपमा परिवर्तन गर्नु पर्ने अवस्था नरहेको स्पष्ट पारे। केही ठाउँमा पुनः मूल्यांकन गर्ने मात्र आवश्यकता रहेको उनले उल्लेख गरे।


