Banner Nepal
माइधारका सरोज शर्माको हत्या प्रकरणमा दुई पक्राउ, शव बिरिंग खोलामा फेला

काठमाण्डौ– झापाको शिवसताक्षी नगरपालिका माइधारका ३३ वर्षीय सरोज शर्माको हत्या भएको पुष्टि भएको छ। कार्तिक ९ गतेदेखि बेपत्ता रहेका शर्माको शव आज बिहान झापा गाउँपालिका र बाह्दशी गाउँपालिकाको सीमावर्ती बिरिंग खोलामा गाडिएको अवस्थामा फेला परेको हो। दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुका अनुसार शर्मा सवार बाग्मती प्रदेश नम्बर ०१–०३ च ७१९४ नम्बरको कार यसअघि नै मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा फेला परेको थियो। नम्बर प्लेट समेत जलेको अवस्थामा फेला परेको उक्त गाडीको पहिचान पछि शर्माकै भएको पुष्टि गरिएको हो।

शर्माको हत्यामा संलग्न रहेको आरोपमा शिवसताक्षी–१० माइधारका २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाहलाई प्रहरीले पक्राउ गरेको छ। भने, हत्या गर्नुपर्ने कारणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

घटनाबारे विस्तृत विवरण, योजनाबद्धता र सम्भावित आर्थिक वा व्यक्तिगत विवादका कोणमा अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update