 
                                                                    काठमाण्डौ — बिहीबारदेखि सुरु भएको लगातार वर्षाका कारण पूर्वका दुई महत्वपूर्ण सडक खण्ड अवरुद्ध भएका छन्। तमोर करिडोर अन्तर्गत धनकुटा खण्डमा पर्ने छरुवा खोला र नावा खोलामा बाढी आएपछि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिए। अविरल वर्षाका कारण तत्काल सडक खुलाउन कठिनाइ भएको र यातायात पूर्ण रूपमा प्रभावित भएको उनले बताए।
सडक बन्द भएपछि धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङबाट तराईतर्फको सञ्जाल अवरुद्ध भएको छ। यसले स्थानीय आवागमनसँगै सामग्री आपूर्तिमा पनि असर परेको छ।
यस्तै, भेडेटार–रवि–राँके सडक खण्डमा भेडेटार डाँडाबजार नजिक थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। निर्माणाधीन उक्त सडक बन्द हुँदा धनकुटाको चौबिसे र पाँचथरतर्फबाट आउने सवारी साधन रोकिन बाध्य भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए।
स्थानीय प्रशासन र सम्बन्धित निकायले मौसम स्थिर भएपछि सडक सफा गरी यातायात सुचारु गराउने तयारी गरिरहेको जनाइएको छ।


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    