 
                                                                    काठमाण्डौ — बेलायतका राजा चार्ल्सले आफ्ना भाइ राजकुमार एन्ड्रयूलाई प्रदान गरिएको शाही उपाधि र सम्मान औपचारिक रूपमा हटाउने प्रक्रिया सुरु गरेका छन्। योसँगै एन्ड्रयूलाई विन्डसरस्थित रोयल लजबाट पनि हटाइने भएको बकिङ्घम दरबारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
ड्यूक अफ यर्क उपाधिसहितका शाही जिम्मेवारीबाट एन्ड्रयू यस महिनाको सुरुमा नै अलग भएका थिए। अमेरिकी व्यवसायी जेफ्री एप्स्टिनसँगको सम्बन्ध र त्यससँगै जोडिएको यौन शोषण प्रकरणका कारण उनी लगातार विवादमा रहँदै आएका छन्। भर्जिनिया गिफ्रेको मरणोपरान्त प्रकाशित संस्मरणमा पनि एन्ड्रयूविरुद्ध यौन सम्पर्कका आरोप दोहोरिएपछि दरबारले थप कठोर कदम लिएको बताइएको छ। एन्ड्र्यूले भने यी सबै आरोप अस्वीकार गर्दै आएका छन्।
दरबारले जारी गरेको वक्तव्यमा ‘एन्ड्रयूविरुद्धका दाबीहरू अस्वीकार गरिए पनि, पीडितहरूको संवेदनशीलता र शाही गरिमाको दृष्टिले आवश्यक कदम उठाइएको’ उल्लेख गरिएको छ। एन्ड्रयूलाई अब स्यान्ड्रिङ्घम इस्टेटमा रहेको निजी आवासमा बसोबास गराइनेछ, जसको खर्च राजा चार्ल्सले नै व्यहोर्ने बताइएको छ।
यस निर्णयले एन्ड्रयूकी छोरीहरू राजकुमारी यूजेनी र बियाट्रिसको शाही उपाधि भने प्रभावित नहुने दरबारले स्पष्ट पारेको छ। पूर्वपत्नी सारा फर्गुसन पनि रोयल लजबाट सर्ने भएकी छन् र उनले बसोबासको व्यवस्था स्वयं गर्नुपर्नेछ।
ब्रिटेनकी संस्कृति मन्त्री लिसा न्यान्डीले यो कदमलाई “यौन शोषण तथा ग्रुमिङका पीडितहरूको पक्षमा एउटा महत्वपूर्ण र सन्देशसहितको निर्णय” भनेर टिप्पणी गरेकी छन्।


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    