 
                                                                    काठमाण्डौ — चितवनमा बिहीबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ३३ जना घाइते भएका छन्। भरतपुर–९ टिकौली जङ्गल क्षेत्रमा इट्टा बोकेको ट्रक सडकछेउ पार्क गरिएको अवस्थामा गौर र जनकपुरबाट काठमाडौँ हुँदै आएका दुई यात्रुवाहक बस त्यसमा ठोक्किँदा दुर्घटना भएको हो।
सशस्त्र प्रहरीका सह–प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार बा.प्र.०३–००१ख ०१२३ नम्बरको डल्फिन बस र बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बस क्रमशः ना.६ख ८१३ नम्बरको ट्रकसँग ठोक्किएका थिए। घटना बिहीबार राति करिब १ः४५ बजे भएको बताइएको छ।
दुर्घटनापछि बस सडकमा पल्टिएर बाटो अवरुद्ध भएपछि सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य गर्दै बिहान २ः५५ बजेदेखि एकतर्फी यातायात सुचारु गरेको थियो। घाइतेहरूलाई तुरुन्त उद्धार गरी चितवनका विभिन्न अस्पतालहरूमा उपचारका लागि पुर्याइएको छ।
प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा १५, नेशनल सिटी अस्पतालमा १३ तथा भरतपुर अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ। तीमध्ये आठ जनाको अवस्था मध्यम रहेको र बाँकी २५ जनाको अवस्था सामान्य रहेको बताइएको छ। घाइतेहरू उदयपुर, धनुषा, रौतहट, महोत्तरी तथा भारत मोतिहारीका नागरिक रहेका छन्।
चितवन मेडिकल कलेजमा उपचाररत २० वर्षीय सार्थक बाबु श्रेष्ठ, ३९ वर्षीय सदाकत मिया, ५२ वर्षीय नरेन्द्र शाह, ४१ वर्षीय मुकेश कुमार केसरी र १७ वर्षीय समिर अन्सारीको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।
नेशनल सिटी अस्पतालमा उपचारमा रहेका अधिकांश यात्रुको अवस्था सामान्य भए पनि रौतहटकी ६२ वर्षीय सुनिता देवी मिश्राको अवस्था भने मध्यम रहेको छ।
भरतपुर अस्पतालमा उपचाररत पाँचमध्ये तीन जना रौतहटका, दुई जना धनुषा तथा भारतका नागरिक रहेको प्रहरीको भनाइ छ।
यसैबीच, दुर्घटनामा संलग्न बा.प्र.०३–००१ख ३९०२ नम्बरको बस चालक धनुषा सहिद नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    