Banner Nepal

काठमाण्डौ — जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई उपलब्ध गराइने आर्थिक सहयोग अन्तरगत हालसम्म ४९ जना मृतकका परिवारलाई सरकारले सहयोग रकम वितरण गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनमा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये ५३ जना नेपाली प्रदर्शनकारी, एक जना भारतीय नागरिक तथा १० जना कैदीबन्दी थिए। मृतकमध्ये १२ जनाको भने अझै पहिचान खुल्न बाँकी छ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ ३० गतेको मन्त्रीपरिषद् बैठकमार्फत आन्दोलनमा मृत्यु भएका (कैदीबन्दीबाहेक) नेपाली नागरिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग तथा ५ लाख रुपैयाँ काजकिरिया र अन्य खर्चका लागि उपलब्ध गराउने निर्णय गरेको थियो।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार हालसम्म ४९ परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत रकम उपलब्ध गराइएको छ। बाँकी चार जनाको हकदार टुंगो लगाउन आवश्यक प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ। सुनसरीका साजन राई, नुवाकोटका लच्छुमन राई, गोरखाका सरोज गुरुङ र चितवनका विजयकुमारसँग सम्बन्धित परिवार र कानुनी पक्ष स्पष्ट भएपछि रकम वितरण गरिने मन्त्रालयको भनाइ छ।

यस्तै मन्त्रालयले आन्दोलनमा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार सुनिश्चित गर्न कार्यदल गठन गरी एम्बुलेन्स, अस्पताल सेवा तथा अन्य समन्वय कार्य अघि बढाइरहेको जनाएको छ। आन्दोलनका क्रममा घाइते भएका २ हजार ४२९ जनामध्ये २२० जनालाई परिचयपत्र वितरण भइसकेको र प्रतिघाइते २० हजार रुपैयाँ सहायता रकम वितरण कार्य पनि भइरहेको बताइएको छ।

सरकारले आन्दोलनमा ज्यान गुमाएका प्रदर्शनकारीलाई सहिद घोषणा गर्ने निर्णय गरिसकेको र त्यसका लागि नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमार्फत विवरण संकलन भइरहेको गृह मन्त्रालयले स्पष्ट पारेको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update