काठमाण्डौ । नेपाल सरकार र जापान सरकारबीच बीपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौता सम्पन्न भएको छ। अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा अर्थ मन्त्रालयमा आज हस्ताक्षर गरिएको हो।
महोटरीको बर्दिबासदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाइको बीपी राजमार्ग जापानकै आर्थिक सहयोगमा निर्माण गरिएको राष्ट्रिय महत्वको मार्ग हो। गत वर्षको बाढी तथा पहिरोका कारण राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएपछि यसको पुनर्निर्माण आवश्यक देखिएको थियो।
जापान सरकारले क्षतिग्रस्त भागहरू पुनःस्थापना तथा मर्मतका लागि २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड रुपैयाँ) बराबरको अनुदान प्रदान गरेको छ। अनुदान सम्बन्धी ‘एक्सचेन्ज अफ नोट्स’ मा नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानका तर्फबाट नेपालस्थित राजदूत तोरु माएदाले हस्ताक्षर गरे।
त्यसैगरी अनुदान सम्झौतामा नेपालको तर्फबाट वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्।
समारोहमा अर्थमन्त्री खनालले जापान नेपालका लागि विश्वसनीय विकास साझेदार भएको उल्लेख गर्दै पूर्वाधार तथा सामाजिक–आर्थिक क्षेत्रमा दिँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे। जापानी राजदूत माएदाले दीर्घकालीन मित्रता र सहकार्यको निरन्तरताकै रूपमा यो सहयोग महत्वपूर्ण रहेको बताए।


