Banner Nepal
बिपी र मध्यपहाडी मार्गमा दुई रात सवारी आवागमन निषेध

काठमाण्डौ । अविरल वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेकाले बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा आज र भोलि रात सवारीसाधन चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सूचना जारी गर्दै कात्तिक १३ र १४ गते साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सिन्धुली हुँदै काठमाडौंतर्फ तथा अन्य दिशामा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा जारी सूचनामा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी रातको समयमा सवारी सञ्चालन रोकिएको उल्लेख छ। निषेध अवधिमा सवारीसाधनहरू खुर्कोट बजारमा रोक्ने व्यवस्था गरिएको छ। अत्यावश्यक बाहेक अन्य यात्रा नगर्नसमेत आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार हाल मार्गका केही खण्डमा पहिरो र बाढीको उच्च जोखिम देखिएकाले आकस्मिक दुर्घटना र मानवीय क्षति न्यूनिकरणका लागि यस्तो निर्णय गरिएको हो। उहाँले मौसम स्थिर नभएसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गर्नुभयो।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update