Banner Nepal
लुभ्र संग्रहालयको चर्चित गहना चोरी प्रकरणमा पाँच जना थप पक्राउ

काठमाण्डौ । फ्रान्सेली प्रहरीले विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयमा यस महिनामा भएको बहुमूल्य गहना चोरी प्रकरणमा संलग्न ठानिएका पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ। पेरिसका सार्वजनिक अभियोजक लरा बेकुआउका अनुसार पक्राउ परेकामध्ये एक जना मुख्य अभियुक्त रहेका छन्, जसलाई लामो समयदेखि निगरानीमा राखिएको थियो।

चोरीका क्रममा लगभग १० करोड २० लाख अमेरिकी डलर बराबरका दुर्लभ गहना लुटिएका थिए। ती गहनामध्ये कुनै पनि वस्तु हालसम्म फेला परिसकेको छैन। डिएनए प्रमाणका आधारमा मुख्य अभियुक्तलाई अक्टोबर १९ मा भएको संगठित चोरीसँग सीधै जोडिएको पुष्टि भएको अभियोजक बेकुआउले जानकारी दिनुभयो।

चोरीमा संलग्न टोलीले अत्याधुनिक उपकरण, योजनाबद्ध रणनीति र काट्ने उपकरणयुक्त ट्रक प्रयोग गरी संग्रहालयको पहिलो तलाबाट आठवटा बहुमूल्य र ऐतिहासिक गहना चोरेका थिए। चोरी गरिएका वस्तुमध्ये महारानी मेरी–लुइसलाई नेपोलियन प्रथमले उपहार दिएको पन्ना–हीराले जडित हार र महारानी युजेनीको करिब दुई हजार हीरा जडित मुकुट समेत छन्।

बुधबार पेरिस र वरपरका क्षेत्रमा गरिएको विशेष अभियानमार्फत पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यसअघि पक्राउ परेका दुई व्यक्तिलाई चोरी र आपराधिक षड्यन्त्रको आरोपमा पूर्व–परीक्षण हिरासतमा राखिएको थियो।

फ्रान्सेली अधिकारीहरूले चोरीमा संलग्न सम्पूर्ण समूहको पहिचान तथा चोरी गरिएका अमूल्य गहनाको पुनः प्राप्तिका लागि अनुसन्धान निरन्तर जारी रहेको बताएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update