काठमाण्डौ — गाजामा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ। मारिनेहरूमा ठूलो संख्या बालबालिका र महिलाहरू रहेको स्थानीय अस्पताल तथा अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। यो घटना यस महिनादेखि लागू भएको नाजुक युद्धविरामका लागि अहिलेसम्मको सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा ‘शक्तिशाली आक्रमण’ गर्न सेनालाई निर्देशन दिएपछि रातभर विभिन्न क्षेत्रहरूमा तीव्र बमबारी गरिएको हो। सो कदमको प्रतिक्रियामा हमासले अर्को बन्धकको शव हस्तान्तरण प्रक्रिया ढिला गरिने चेतावनी दिएको छ।
मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालमा तीन महिला र छ बालबालिकासहित १० जनाको शव ल्याइएको छ। दक्षिणी गाजाको खान युनुसस्थित नासेर अस्पतालमा पाँच स्थानमा गरिएको हवाई आक्रमणपछि २० जना मृतक पुर्याइएको छ, जसमा १३ बालबालिका र दुई महिला थिए। त्यस्तै, अल–अवदा अस्पतालमा ३० शव भर्नु परेको छ, जसमा १४ बालबालिका रहेको पुष्टि भएको छ। उपचार साधन र शैय्या अभावका बीच अस्पतालहरू अत्यधिक दबाब झेलिरहेका छन्।
इजरायली अधिकारीका अनुसार दक्षिणी गाजामा सेनामाथि गोली प्रहार भएपछि नेतान्याहुले प्रतिकारात्मक आक्रमणको आदेश दिएका थिए। आक्रमण सोमबार हमासले ‘आंशिक अवशेष’ हस्तान्तरण गरेपछि भएको बताइन्छ, जसलाई इजरायलले युद्धको सुरुवाती चरणमै अपहरणमा परेका आफ्ना नागरिकको अवशेष भएको दाबी गरेको छ।
स्थिति बिग्रिँदै गएपछि संयुक्त राज्य अमेरिकाले कूटनीतिक पहल सुरु गरेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हिंसा छिट्टै अन्त्य हुने आशा व्यक्त गरेपनि विश्लेषकहरू युद्धविराम पुनः भङ्ग हुने जोखिम बढेको बताउँछन्।
स्थानीय प्रशासनका अनुसार भग्नावशेष मुनि अझै धेरै परिवार बेपत्ता छन्, आक्रमण रोकिन नसके मानवीय संकट झनै भयावह हुन सक्ने चेतावनी दिइएको छ।


