Banner Nepal
काठमाण्डौमा मन्त्री घिसिङ र भारतका विद्युतमन्त्री खट्टरबीच  छलफल

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ महासभामा सहभागी हुन नयाँ दिल्लीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरसँग भेटवार्ता गर्नुभएको छ। बुधबार विद्युत मन्त्रालयमा भएको यस भेटवार्तामा नेपाल–भारतबीच ऊर्जा क्षेत्रलाई थप विकसित र सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

छलफलका क्रममा विद्युत व्यापार वृद्धि, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत परियोजनाको प्रगति, दीर्घकालीन ऊर्जा साझेदारी तथा ऊर्जा सुरक्षासम्बन्धी विषयहरू मुख्य रुपमा उठान गरिएका थिए। द्विपक्षीय सहकार्यलाई दीर्घकालीन र संस्थागत स्वरूप दिन दुवै पक्ष सहमत हुँदा भेट अर्थपूर्ण बनेको बताइएको छ।

भेटमा नेपालका राजदूत डा. शंकरप्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव तथा नेपाल ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतमलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update