स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयमा आइटी सामग्री खरिदका नाममा विद्यालय कोष हिनामिना भएको आरोपमा पूर्वप्रधानाध्यापक रबिलाल लुइटेलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार लुइटेलसँगै तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम थापा र तत्कालीन लेखापाल छविलाल गहामाथि सोही आरोपमा विशेष अदालत, काठमाडौंमा आइतबार आरोपपत्र दायर गरिएको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विद्यालयलाई आइसिटी कार्यक्रमअन्तर्गत आएको ६ लाख ५० हजार रुपैयाँ बजेटबाट कम्प्युटर, प्रोजेक्टर, ल्यापटप र प्रिन्टर खरिद गरे पनि केही सामग्री विद्यालयमा नल्याई नक्कली दाखिला प्रतिवेदन तयार गरिएको देखिएको छ। साथै दुई थान कम्प्युटर, एक प्रिन्टर र एक प्रोजेक्टरको मूल्य बराबर जम्मा २ लाख १७ हजार रुपैयाँ हिनामिना भएको निष्कर्ष आयोगले निकालेको छ।
यसबाहेक, प्रतिवादीहरूले विद्यालय व्यवस्थापन समितिको निर्णयबिना नै विद्यालय कोषबाट २ लाख ५४ हजार ६६७ रुपैयाँ प्रधानाध्यापकको नाममा सापटीबापत चेक काटेर रकम निकालेको र फिर्ता नगरी कुल ४ लाख ७१ हजार ६६७ रुपैयाँ बराबरको हिनामिना गरेको आयोगको दाबी छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।


