Banner Nepal
७५ जिल्लामा डेङ्गु फैलियो, ६ हजारभन्दा बढी संक्रमित

देशभर डेङ्गु संक्रमण तीव्र रुपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार हालसम्म ७५ जिल्लामा ६ हजार ६६८ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। सोही अवधिमा पाँच जनाको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो।

दाहालका अनुसार डोल्पा र मनाङबाहेक सबै जिल्लामा डेङ्गु देखापरेको छ। प्रदेशगत विवरणअनुसार बागमती प्रदेश सबैभन्दा प्रभावित देखिएको छ, जहाँ १ हजार ६४९ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी, गण्डकीमा १ हजार ६३१, लुम्बिनीमा १ हजार ११७, कोशीमा ८९६, सुदूरपश्चिममा ७६२, कर्णालीमा ४७४ र मधेश प्रदेशमा १३९ जनामा डेङ्गु संक्रमण पाइएको छ।

चिकित्सकका अनुसार एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने यो रोग सफा पानी जम्ने भाँडाकुडा वा खुला ठाउँहरूमा तीव्र रूपमा फैलिन सक्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, उच्च ज्वरो, खाना खान मन नलाग्ने, पखाला लाग्ने, जोर्नी तथा मांसपेशी दुख्ने, आँखाको गेडी चिलाउने, शरीरमा राता बिमिरा आउनु लगायतका लक्षण डेङ्गुका प्रमुख संकेत हुन्।

डेङ्गु देखिएमा चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न, उच्च ज्वरो वा श्वासप्रश्वासमा समस्या भए तुरुन्त स्वास्थ्य संस्थामा जान चिकित्सकहरूले आग्रह गरेका छन्। आगामी कात्तिकसम्म डेङ्गु संक्रमणको जोखिम रहन सक्ने भएकाले थप सतर्कता र सरसफाइमा ध्यान दिन विशेषज्ञको सुझाव छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update