Banner Nepal
प्रधानमन्त्री कार्कीद्वारा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र युवा तथा खेलकुदमन्त्रीको नियुक्ति गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार पूर्वस्वास्थ्य सचिव डा. सुधा गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सामाजिक कार्यमा सक्रिय बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री पदमा नियुक्त गर्नुभएको हो।

नवनियुक्त मन्त्री गौतम र गुप्ताले आइतबारै राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभयो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले यसअघि भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गरिसक्नुभएको थियो। यस विस्तारसँगै मन्त्रीपरिषद्मा प्रधानमन्त्रीसहित १० सदस्य पुगेका छन्।

डा. सुधा गौतम स्वास्थ्य प्रशासनमा अनुभवी तथा स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ। उहाँले स्वास्थ्य सचिवका रूपमा कार्यकाल पूरा नभएसम्मै जिम्मेवारी सम्हालेकी थिइन्। स्वास्थ्य सेवामा तीन दशकभन्दा बढी बिताएका गौतमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेकी छन्। ‘अप्रमेय’ र ‘सिंहदरबारको घुम्ने मेच’ उनका प्रकाशित पुस्तक हुन्।

उता ‘हन्डे«ड ग्रुप’मार्फत समुदायमा सक्रिय बब्लु गुप्ता जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै मन्त्री बनेका हुन्। कोभिड–१९ महामारीका बेला रगत उपलब्ध गराउने, खानाको सेवा सञ्चालन गर्ने लगायत सामाजिक उत्तरदायित्वका अभियानमा उनी चर्चित छन्।
मन्त्रालयको पदभार सम्हाल्दै गुप्ताले मन्त्रालयअन्तर्गतका सबै बैठक तथा निर्णय प्रत्यक्ष प्रसारण गर्ने निर्णय गर्नुभएको छ। उहाँले जनविश्वास पुनःस्थापनाका लागि काम प्राथमिकताबाट अघि बढाइने बताउनुभयो।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update