Banner Nepal
‘विद्रोही होइन, सुध्रेर अघि बढ्छु’ — दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफू अब संयमित र सुधारिएको मार्गमा अघि बढ्ने संकेत गरेका छन्। काठमाण्डौमा आइतबार प्रमुख सम्पादकहरूसँग गरिएको अन्तर्क्रियामा प्रसाईंले विगतमा गरेको अभिव्यक्ति र व्यवहारप्रति आफूले आत्मसमिक्षा गर्दै सुधारतर्फ उन्मुख रहेको बताएका हुन्।

‘दुर्गा प्रसाईं सुध्रेर जान्छ, तपाईंहरूको सहयोगको अपेक्षा छ,’ भन्दै उनले हालका दिनमा आफू ‘देशको विद्रोही पक्ष’ जस्तै देखिए पनि आफ्ना मागहरू जायज रहेको दाबी गरे। आफूले धेरै बोलेको, बाटो बिराएको भन्दै लागेका अभिव्यक्तिहरूलाई स्वीकार गर्दै प्रसाईंले आगामी दिनमा त्यस्तो नदोहोर्याउने उल्लेख गरे।

उनले विदेशमा रहेका नेपालीलाई फर्कने वातावरण बनाउनुपर्नेमा जोड दिँदै, भदौ २३ र २४ मा जेन–जी आन्दोलनमा सहभागी हुन लागेको तर अनुमति नदिइएको गुनासो पनि राखे। ‘बालेनजीले मलाई बचाइदिनुभयो, नत्र सबै आएर मेरो थुनामा बास हुन्थ्यो,’ प्रसाईंको भनाइ थियो।

जेन–जी आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्चमा आगजनी हुँदा दमकल तत्काल नपुगेको भन्दै उनले काठमाण्डौ महानगर र मेयर बालेन शाहमाथि पनि प्रश्न उठाए।

त्यस्तै उनले मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र किन हटाउनुपर्‍यो भनेर पुनः बहस उठाउँदै पुराना राजनीतिक प्रसङ्गहरू पनि स्मरण गरे। आफू २०५७ पछि माओवादीसँग आबद्ध भएर प्रचण्डलाई २० वर्ष सहयोग गरेको, त्यसपछि एमाले र माओवादी एकता प्रक्रियामा भूमिका खेलेको दाबी उनले दोहोर्‍याए।

२०७४ फागुनमा आफ्नो निवासमा प्रचण्ड र केपी शर्मा ओलीलाई एकै ठाउँमा बसालेर एकताको वातावरण मिलाउन प्रयास गरेको तर मेडिकल कलेज सम्बन्धनको विषयमा असन्तुष्ट भएर आफू सर्वोच्च अदालत गएको प्रसाईंको भनाइ थियो।

उनले आफूमाथि बैंक ऋण नतिरेको आरोपको खण्डन गर्दै ब्याज तिर्इरहेको र बढी विजुली खपत गरेर महसुल बुझाउने उपभोक्ता भएको कारण सरकारले सम्मान गरेको पनि स्पष्टीकरण दिए।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update