राप्तीसोनारी क्षेत्र नजिकको बाँके राष्ट्रिय निकुञ्जबाट बाघ र चितुवा बाहिर निस्किने क्रम बढेपछि स्थानीयवासी निरन्तर आतङ्कमा रहेका छन्। घाँस र दाउरा सङ्कलनका लागि निकुञ्ज आसपास पुग्ने मानिसहरू वन्यजनावरको हमला भोग्न थालेपछि सुरक्षा चुनौती थपिएको राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिनुभयो।
ताजा घटनामा राप्तीसोनारी–९ गुरुवागाउँ नमूनाटोलका ४० वर्षीय इन्द्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएपछि मानव–वन्यजन्तु द्वन्द्व अझ चर्किएको छ। खत्री घाँस काट्न गएको भोलिपल्ट बिहान खोजतलासका क्रममा जङ्गली जनावरले खाएको अवस्थामा शव फेला परेको थियो।
घटनापछि स्थानीयले निकुञ्ज प्रशासनमाथि सुरक्षा व्यवस्थामा बेवास्ता गरेको आरोप लगाउँदै घटनास्थलमा खटिएका निकुञ्जका रेञ्जर जयहरि धिताल र समाचार संकलनका लागि पुगेका पत्रकार डिल्ली शाहीमाथि हातपातसमेत गरेका छन्।
यसबीच, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बाघ र चितुवाको आक्रमण दोहोरिन नदिन विभिन्न गतिविधि सञ्चालन भइरहेको बताउँदै घाइते तथा मृतक परिवारलाई कानुनअनुसार राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने आश्वासन दिनुभएको छ। साथै स्थानीयलाई घाँस दाउरा गर्न एक्लै नजाने र साँझपख वन क्षेत्रमा प्रवेश नगर्न आग्रह गरिएको छ।
राप्तीसोनारीका स्थानीय प्रतिनिधिहरूका अनुसार मध्यवर्ती क्षेत्रमा यस्ता घटना बढिरहेकाले जनजीवन भयग्रस्त बनेको छ।


