काठमाण्डौमा जेन–जी आन्दोलनका क्रममा प्रहरीले घेराबन्दीमा परी ज्यान गुमाएका दुई सुरक्षाकर्मीको हत्या प्रकरणमा थप पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अनुसन्धानको क्रममा घटनामा प्रत्यक्ष तथा परोक्ष भूमिका खेलेका व्यक्तिहरू फेला परेर पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ तथा रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन्।
उक्त घटनामा महाराजगञ्ज प्रहरी वृत्तका असई मिलन राय र जवान उत्तम थापाको प्रदर्शनकारीले कार्यालय क्षेत्रबाट तानेर भाटभटेनी सुपर स्टोर नजिक पुर्याई सामूहिक कुटपिट गरेका थिए। अचेत अवस्थामा सडक बीचमा समेत घिसारेर निरन्तर भएको आक्रमणका कारण दुवैको घटनास्थलमै मृत्यु भएको थियो।
यसअघि सोमबार सोही प्रकरणमा संलग्न मानिएका युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होमप्रसाद पौडेल र टिकाराम विकलाई पुर्पक्षका लागि न्यायिक हिरासतमै पठाइएको थियो। अहिले थप पक्राउसँगै अनुसन्धान अझै अघि बढाइएको प्रहरीले जनाएको छ।


