Banner Nepal
रुकुम पश्चिममा जीप दुर्घटना, आठ जनाको मृत्यु

काठमाण्डौ–रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारे नजिक लिस्नेमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो। दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्।

मृत्यु हुनेहरूमा आठबिसकोट नगरपालिका–३ की ३० वर्षीया कमला वली, वडा नम्बर १ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, वडा नम्बर २ की १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला बिक र २२ वर्षीय गोपाल वली रहेका छन्।

घाइतेमध्ये जीप चालक टोपजंग बुढासहित सिर्जना बुढा (१७), सपना नेपाल (१५), जुना बुढा (१८), संगिता बुढा (१७), शान्ति बुढा (१९), अञ्जना ऐरी (१७), महिमा ओली (२०), मनिषा थापा (१७) र सबिता बिक (१५) छन्। गम्भीर घाइते जुना बुढालाई नेपालगञ्ज रिफर गरिएको छ भने अन्यको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको प्रहरीले जनाएको छ।

रा१ज ४२२ नम्बरको जीप मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिका स्यालाखदीतर्फ जाँदै गर्दा बाँफिकोट–आठबिसकोटको सिमाना रहेको झारमारे लिस्नेको लेकमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ। क्षमताभन्दा बढी यात्रु राखिएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update