Banner Nepal
तीन नयाँ प्रसारण लाइन निर्माणका लागि अनुमति, भेरी करिडोर जोडिने

काठमाण्डौ–सरकारले चालु आर्थिक वर्षमा हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले राष्ट्रिय प्रसारण प्रणाली विस्तारलाई प्राथमिकता दिँदै प्रसारण पूर्वाधार सुदृढीकरणको काम अघि बढाइरहेको छ।

भेरी करिडोरबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्नका लागि नलगाड–मैनताडा प्रसारण लाइन निर्माण अनुमति दिइएको विभागले जनाएको छ। करिब ७५ किलोमिटर लम्बाइको यो ४०० केभी क्षमता प्रसारण लाइनमार्फत करिब दुई हजार ४०० मेगावाट बराबरको विद्युत् प्रवाह गर्न सकिनेछ। यसको निर्माण राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले गर्नेछ।

यस्तै, ३३ केभी क्षमताका दुई प्रसारण लाइन निर्माणका लागि पनि अनुमति दिइएको छ।

खोरुङगा खोला प्रसारण लाइन (४.३८ किमी) मार्फत करिब ४.८ मेगावाट बिजुली प्रणालीमा जोडिनेछ।

सुपर सर्दी खोला हाइड्रोपावरको ३.६८ किमी प्रसारण लाइनमार्फत २.९ मेगावाट बिजुली प्रवाह हुनेछ।

विभागका अनुसार हालसम्म मुलुकभर कूल २७४ प्रसारण लाइन निर्माणका लागि अनुमति जारी गरेको छ। चालु आवमा मात्र आठ प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिइएको छ। तीमध्ये मध्य चमेलिया, डाडाँखेती–बुर्तीबाङ, सानी भेरी, दुधकोशी पाँचौँ, समुन्द्रटार–लप्सेफेदी तथा अन्य सोलार र जलविद्युत् परियोजनाहरू समावेश छन्।

विभागमा अहिले २१ परियोजनाले नयाँ सर्वेक्षण अनुमतिका लागि आवेदन दर्ता गराएका छन्। तीमध्ये चालु आवमै ११ परियोजनाले प्रक्रिया अघि बढाएका छन्।

सरकारले जलविद्युत् उत्पादन बढेसँगै प्रसारण क्षमता विस्तारलाई ऊर्जा सुरक्षाको मौलिक आधार मानेर निरन्तर रूपमा ग्रिड सुदृढीकरणको काम अघि बढाइरहेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update